धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा शुक्रबारदेखि निःशुल्क आँखा शिविर सुरु भएको छ । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरेर महालक्ष्मी नगरपालिकाले आँखा शिविर सञ्चालन गरेको हो ।
पहिलो दिन महालक्ष्मी नगरपालिका वडा नं.१ मा आयोजना गरिएको शिविरमा ७४ जनाको आँखा परीक्षण गरिएको महालक्ष्मी नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिए । जसमा मोतियाविन्दु भएका चार जना र आँखामा मासु पलाएका तीन जना फेला परेका छन् ।
मोतियाविन्दु भएकाहरुलाई निःशुल्क अप्रेशनका लागि महालक्ष्मी आधारभूत अस्पताल जितपुर बोलाइएको छ । अब, शनिवार महालक्ष्मी वडा नं.२ मा शिविर सञ्चालन हुँनेछ । १६ गते वडा नं. ५, १७ गते वडा नं. ६, १८ गते वडा नं.७, १९ गते वडा नं. ८, २० गते वडा नं. ९, २२ गते वडा नं. ३ र २३ गते वडा नं. ४ मा शिविर हुँने नगरपालिकाले जनाएको छ ।
नगरका सबै वडामा आँखा शिविर सञ्चालन गरी मोतियाबिन्दु भएकाहरुलाई फागुन २४ र २५ गते जितपुरमा बोलाएर निःशुल्क अप्रेशन गरिने महालक्ष्मीका नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।