धनकुटा । धनकुटामा प्रचण्ड–माधव पक्षीय नेकपाका पदाधिकारी तथा सदस्यहरुले शुक्रबार सपथ ग्रहण गरेका छन् । केन्द्रमा पार्टी विभाजन भएपछि ओली पक्षमा लागेका पदाधिकारी तथा सदस्यको ठाउँमा पदपूर्ति गरी सपथ ग्रहण गराइएको नेकपाको प्रचण्ड–माधव पक्षले जनाएको छ ।
तत्कालिन एमाले र माओवादी एकताबाट बनेको जिल्ला कमिटीका अध्यक्ष राजेन्द्र राई ओली पक्षमा खुलेका छन् । पूर्व एमालेका राईको ठाउँमा प्रचण्ड–माधव पक्षले पूर्व एमालेकै दुर्गा लिंखालाई अध्यक्ष बनाएको छ । यता, पूर्व माओवादीका ऋषिराम ढुंगानालाई जिल्ला सचिवमा कायम राखिएको छ । उनी पार्टी एकतादेखि नै जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
एमाले र माओवादी एकतापछि बनेको नेकपाको १ सय ३७ सदस्यीय धनकुटा जिल्ला कमिटीका ७४ जना प्रचण्ड–माधव पक्षमा छन् । ओली पक्षमा गएका ६३ जनाको ठाउँमा पदपूर्ति गरेर सपथ ग्रहण गरिएको नेकपा सचिव ढुंगानाले जानकारी दिए । जिल्ला अध्यक्ष लिंखासहित ६३ जनालाई नेकपाका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज हेमराज भण्डारीले सपथ ग्रहण गराएका हुन् ।
प्रचण्ड–माधव पक्षले जिल्लाका सात वटै स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ । उनीहरुलाई पनि शुक्रबार नै सपथ ग्रहण गराइएको छ । धनकुटा नगरपालिकाको अध्यक्षमा खगेन्द्र विष्ट, सचिबमा सुजनभाई जोशी, चौविसे गाउँपालिकाको अध्यक्षमा इन्द्र खत्री, सचिबमा बुदराज याखा, सहिदभूमि गाउँपालिकाको अध्यक्षमा भीमलाल राई, सचिबमा गोपाल राई र पाख्रीबास नगरपालिकाको अध्यक्षमा शोवित निरौला, सचिबमा बलराम खड्का चयन भएका छन् ।
त्यस्तै, साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा जगत राई, सचिबमा अनिल किराती, छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र कार्की, सचिबमा चेत राना मगर र महालक्ष्मी नगरपालिकाको अध्यक्षमा प्रेम खड्का चयन भएका छन् । महालक्ष्मीमा सचिवको टुंगो लाग्न वाँकी छ । फागुन महिनाभित्रै वडा तहसम्मका कमिटीलाई पूर्णता दिइने प्रचण्ड–माधव पक्षले जनाएको छ ।