विराटनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गरेका छन् । नेपाली काँग्रेसद्वारा बिहीबार विराटनगरमा आयोजित वर्तमान राजनैतिक अवस्था, संवैधानिक संकट, यसको निकास र आजको आवश्यकता बिषयक विचार गोष्ठीमा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।
उनले सर्वोच्च अदालतमाथि नेपाली काँग्रेसको पूर्ण समर्थन र विश्वास रहेको जिकिर गरे । उनले अदालतलाई प्रधानमन्त्री ओलीको गर्जन र शक्ति प्रर्दशनबाट प्रभावित नभई संविधानसम्वत फैसला गर्न आग्रह गरे । नेता थापाले आगामी बैशाख १७ र २७ मा हुने भनिएको दुई चरणको मद्यावधि चुनाव हुँनै नसक्ने ठोकुवासमेत गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्री ओेलीले नियन्त्रित लोकतन्त्र स्थापना गर्न खोजेको आरोप लगाए । काँग्रेसको सहभागिता बिना मुलुकमा राजनैैतिक स्थिरता र संसद् पुर्नस्थापना सम्भव नभएको उनले बताए ।
कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल र संविधानविद् डा. विपिन अधिकारीले वर्तमान राजनैतिक संकट समाधानका लागि सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको उल्लेख गरे । जनतालाई सुसुचित गराउन राजधानी केन्द्रित आन्दोलनको गर्नुपर्नेमा उनीहरुले जोड दिए ।