काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले आयोजना गरेको बृहत जनसभामा काठमाडौंका विभिन्न ठाउँबाट र्याली सुरु गरेको छ । नारायणहिटी दरबार संग्रहालयबाहिर जनसभा आयोजना गरेको उक्त समूहका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शन गरेका छन् ।
उपत्यकाका विभिन्न १६ ठाउँबाट र्याली सुरु हुने र्यालीहरु सभास्थलमा जम्मा हुने उक्त समूहले जनाएको छ । जनसभामा काठमाडौँ उपत्यकाका साथै बागमती प्रदेशका १३ वटै जिल्लाबाट कार्यकर्ता र समर्थकहरु सहभागी हुने बताइएको छ ।
जनसभालाई प्रधानमन्त्री ओलीसहित उप-प्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभालाई लक्षित गरेर सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ भने पोलपोलमा सभाका पोस्टरहरु झुण्ड्याइएका छन् ।