विराटनगर । भारत सरकारले सहयोग स्वरुप पठाएको कोरोनाविरुद्धको खोप प्रदेश १ मा पनि आइपुगेको छ । सोमबार बिहान प्रदेश नं. १ को राजधानी विराटनगरमा खोप आइपुगेको हो । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा खोप भण्डारण गरेर राखिएको छ ।
पहिलो चरणमा प्रदेश १ का १४ वटै जिल्लालाई पर्याप्त हुने गरि खोपको ९६ हजार डोज विराटनगर आईपुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलवार बेलुकासम्म प्रदेशभरका जिल्लाहरुमा आवश्यकता अनुसार खोप पुगिसक्ने छ ।
प्रदेशभरका प्रत्येक जिल्ला अस्पताल र केही ठुला अस्पतालहरुबाट पहिलो चरणमा खोप लगाइनेछ । कोरोना महामारीकाबीच अग्रभागमा रहेर क्रियाशील स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप लगाउने प्रदेश सरकारको योजना छ । पहिलो चरणमा ३५ हजार ५ सय ७६ जना लक्षित जनशक्तिलाई कोरोना खोप लगाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईले बताए ।
पहिलो पटक खोप लगाइसकेका व्यक्तिले १ महिनापछि पुनः दोश्रोपटक खोप लगाउनुपर्ने भएकाले प्रदेशलाई हाल कुल ७१ हजार १ सय ५२ डोज कोरोनाविरुद्धको खोप चाहिएको छ । तर पहिलो चरणमै सोमबार ९६ हजार डोज कोरोनाविरुद्धको खोप विराटनगर आइपुगेकाले हाल प्रदेश सरकारसँग पहिलो चरणका लागि पर्याप्त खोप रहेको स्वास्थ्य महाशाखा प्रमुख प्रसाईले जानकारी दिए ।
कोरोनाविरुद्धको खोप गर्भवती महिला, स्तनपान गराइरहेका आमा र १८ बर्षमुनिका बालबालिकाहरुलाई लगाउन नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नसक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
भिडियो रिपोर्ट हेर्नुहोस्…