विराटनगर । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति देशको पहाडी भु–भागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात अनि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुमा हल्का वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
देशभर बदली भई हल्का बर्षा र हिमपातका कारण तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।