
विराटनगर । विराटनगर महानगरपालिका-४ नोबेल अस्पताल नजिकको नहर किनार क्षेत्रको सुकुम्बासी बस्ती तत्काल नहटाइने भएको छ । विगत ४५ वर्षदेखि बसोबास गर्दै आएका करिब ६५ घरधुरी तत्काल नहटाइने भएको हो ।
जिल्ला प्रशासन कार्यालय, विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षहरूसँग भएको विस्तृत छलफल र समन्वयपछि हालका लागि बस्ती हटाउने कार्य स्थगित भएको मोरङ-६ की सांसद रुविना आचार्यले जनाएकी छन् ।
वास्तविक सुकुम्बासीको पहिचान, तथ्याङ्क संकलन तथा आवश्यक कानुनी प्रक्रिया भने प्रचलित कानुन र स्थापित प्रक्रियाअनुसार निरन्तर अगाडि बढाइने उनको भनाइ छ । यस सम्बन्धमा गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समेत आवश्यक छलफल र समन्वय भइसकेको उल्लेख गरेकी छन् ।
‘हाल वर्षायामका कारण उत्पन्न हुन सक्ने जोखिम, स्थानीय बासिन्दाको सुरक्षा, मानवीय संवेदनशीलता तथा समग्र परिस्थितिलाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्दै कुनै पनि निर्णयबाट नागरिकको आधारभूत जीवनमा अनावश्यक कठिनाइ सिर्जना नहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।
यस विषयमा कानुनको शासन, मानवीय संवेदनशीलता र सबै पक्षको उचित चासोलाई समान रूपमा सम्मान गर्दै दीर्घकालीन, न्यायोचित तथा दिगो समाधानको खोजीका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र संवाद निरन्तर जारी रहने उनको भनाइ छ ।

संगालोखबर 



















