विराटनगर । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले नै निरन्तरता पाउँने बताएका छन् । विराटनगरमा बुधवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै मन्त्री कार्कीले नेकपाभित्रै बहुमत जुटाएर वा अन्य दलहरुसँग गठबन्धन गरेर भएपनि यही सरकारलाई नै निरन्तरता दिइने बताएका हुन् ।
उनले प्रदेश सभामै बहुमत जुटाएर मुख्यमन्त्री राईकै नेतृत्वको सरकारलाई निरन्तरता दिन पहल भईरहेको बताए । प्रदेश सभामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हँुदैछ भन्ने बिषय प्रस्ताव दर्ता हुनुपूर्व नै आफुहरु जानकार रहेको मन्त्री कार्कीले जिकिर गरे ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभा विघटन गर्ने अधिकार मुख्यमन्त्रीसँग भएपनि आफुहरुले त्यो बाटो नरोजेको मन्त्री कार्कीले स्पष्ट पारे । प्रदेश सभा विघटन गरेर प्रदेश संरचनाप्रति जनताको वितृष्णा उत्पन्न हुने काम सरकारले नगर्ने मन्त्री कार्कीको भनाई छ ।