उदयपुर। उदयपुरमा सोमबार राति अज्ञात समूहद्वारा स्कूल बसमा आग्जनी गरेको छ । त्रियुगा नगरपालिका–४ सल्लाघारी, बगाहामा अवस्थित क्रिमशन एकेडेमी प्रा.लि.को को.१ ख ५०४० नम्बरको स्कूल बसमा सोमबार राति अन्दाजी साढे दश बजेको समयमा आग्जनी गरेको हो । स्कुल बस विद्यालयको प्राङ्गनमै रहेको अवस्थामा अज्ञात समूहले राति आग्जनी गरेको थियो ।
आग्जनीबाट बसको गियर बस्क, स्टेरिङ, बसको फाइबर, बसको सिटको साथै बसको इन्जिन समेत जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम बहादुर रानाले बताए ।
उनका अनुसार विद्यालय परिषरमा रहेका बसमा अज्ञात समूहले आग्जनी गरेको छ । आग्जनीबाट बसमा करिव ८–१० लाख बराबरको क्षति हुन सक्ने अनुमान गरिएको डिएसपी रानाले बताए ।
यस्तै बसमा आग्जनी गरेको प्रति नेशनल प्याब्सन उदयपुरले एक प्रेस विज्ञप्ती जारी गरी घोर भत्र्सना गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विद्यालय जस्तो शिक्षाको मन्दिर र स–साना विद्यार्थी भाई बहिनीहरुको सुविधा प्रयोजनको साधनमाथि यस्तो आक्रमण अनैतिक, अभद्र, असभ्य, अमानविय, जंगली व्यवहार रहेको ठहर गर्दै यस्ता क्रियाकलाप गर्ने प्रति हाम्रो संगठन घोर भत्र्सना तथा निन्दा गर्दछ ।’
नेशनल प्याब्सन जिल्ला कार्य समन्वय समितिका सचिव केदार दनुवार र नेशनल प्याब्सन त्रियुगा नगर समितिका सचिव ईश्वर प्रसाद काफ्लेद्वारा संयुक्त विज्ञप्ती जारी गरी विद्यार्थीको मनोवलमा असर पर्ने, विद्यालय शान्ति क्षेत्रलाई खलल् पुर्याउने, समग्र शैक्षिक क्षेत्रलाई असर गर्ने हुँदा सवै पक्षसंग यस्तो गतिविधि नगर्न नगराउन अनुरोध गरेको छ ।
विज्ञप्तीमा भनिएको छ , ‘यस किसिमको घटना घटाउने अभियुक्तहरुलाई तत्काल स्थानीय प्रशासनद्वारा आवश्यक अनुसन्धान गरी आग्जनी गर्ने गराउनेको पहिचान गरी पक्राउ गरी कडाभन्दा कडा कार्वाहीको माग गर्दै पिडित पक्षलाई क्षतिपूर्ति दिन नेपाल सरकारसंग जोडदार माग गर्दछौं ।’