काठमाडौं । संसद बिघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्ने भएको छ । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि असन्तुष्ट सो समूहले आन्दोलन गर्ने भएको हो ।
सो समूहको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्रगत पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा भेला भई प्रदर्शन गर्नेछन् । त्यसपछि उक्त टोली निर्वाचन आयोगमा जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गरिनेछ ।
त्यस्तै, ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने कार्यक्रम तय भएको छ । पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन गरिनेछ । आन्दोलन राजधानीमा थप सशक्त पारिनेछ ।
त्यस्तैगरी, पुस २० गतेसम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला गरिनेछ । २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला गर्ने निर्णय भएको छ । दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम हुँने बताईएको छ ।