काठमाडौं । काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौं बस्दै आएका १९ वर्षीय अनिल तामाङ छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले गएराती तामाङलाई पक्राउ गरेको हो । एटिएमबाट पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एटीएम मेसिन आधा फुटाईसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।