पोखरा। लागूऔषध नियन्त्रण ब्युरो पोखराले सिसुुवाबाट २६ वर्षीय जितेन्द्र गुरुङलाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ । पोखरा लेखनाथ ३१ घर भएका गुरुङको साथबाट प्रहरीले आइतबार १ हजार ७ सय ८५ वटा लागुऔषध बरामद गर्यो ।
७ वर्षदेखि लागूऔषध प्रयोग गर्दै आएका जितेन्द्र लेखनाथ क्षेत्रमा बिक्री गर्ने मुख्य डिलर हुन् भन्ने पोखरा ब्युरोलेसुइँको पाएको थियो । साढे १ महिनादेखि जितेन्द्र प्रहरीको निगरानीमा थिए ।
आइतबार जितेन्द्रले ठूलो परिणाममा लागूऔषध लेखनाथ भित्र्याउँदै छन् भन्ने खबर ब्युरोलाई आयो। दिउँसो ३ बजे खबर पाएलगत्तै ब्युरो प्रमुख इन्स्पेक्टर रवीन्द्र गुरुङ नेतृत्वमा सई विद्याधर त्रिपाठी, प्रहरी जवानद्वय गणेश परियार र धनबहादुर तरामीको टोलीले सिसुवाचोकमा जितेन्द्रलाई उनकै घरबाट पक्रेको हो ।
प्रहरीका अनुसार जितेन्द्रबाट बरामद भएको लागुऔषध लेखनाथ क्षेत्रमा एक महिनामा खपत हुने परिमाण बराबर हो ।
यसअघि पनि पटकपटक पक्राउ परेका जितेन्द्र यसपालि भने ठूलै परिमाणको लागु औषधसहित समातिएका हुन् । जितेन्द्र पटके रहेको लागुऔषध नियन्त्रण ब्युरो पोखराका प्रमुख इन्स्पेक्टर रवीन्द्र गुरुङले बताए ।
‘पहिला लागुऔषध प्रयोगकर्ताको रुपमा हेरेका थियौ,’ उनले भने, ‘यसपटक त उनको साथबाट ठूलै परिमाणमा लागुऔषध भेटियो ।’
जितेन्द्रबाट डाइजापाम ५ सय ९८, नर्फिम २ सय ८८, तालाजेसिक ७ सय ९२ र फेनेरागन ६ सय ७ वटा बरामद भएको छ । जितेन्द्रलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको इन्स्पेक्टर गुरुङले बताए ।
पुरानै प्रयोगकर्ता रहेको ब्युरोका सई विद्याधर त्रिपाठीले बताए । ‘यो परिमाण पक्राउ पर्नु ठूलो उपलब्धि हो,’ उनले भने।
प्रहरी स्रोतका अनुसार केही इन्डियन लागुऔषध डिलरहरुले आफै पोखरासम्म ल्याइदिने गरेका छन् । ‘विगतमा प्रयोगकर्ता र डिलर आफै भारत गएर ल्याउने काम गर्थे,’ स्रोतले भन्यो, ‘आइतबार पक्राउ परेका जितेन्द्रलाई पनि भारतीयले पोखरामै लागुऔषध ल्याइदिएका हुन् ।’
जितेन्द्रलाई भारतीय नागरिक विवेक भन्ने कमलेश गुप्ताले पोखरासम्म लागुऔषध ल्याएर दिएको स्रोतले बतायो । ‘जितेन्द्रले लेखनाथतिर लग्ने काम गर्दै आएको रहेछ,’ इन्स्पेक्टर गुरुङले भने, ‘अब केही दिन लेखनाथमा लागुऔषध प्रयोगकर्ता छटपटाउने छन्,’ स्रोतले भन्यो, ‘जितेन्द्र लेखनाथको मुख्य डिलर रहेछ ।’
प्रारम्भिक सोध पुछ गर्दा जितेन्द्रले खुद्रा मात्र नभएर अन्य सबडिलरहरुलाई समेत लागुऔषध बिक्री वितरण गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार भारतमा गएर ल्याउनभन्दा भारतीयले पोखरा ल्याइदिएपछि जोखिम कम हुने हुँदा यिनीहरुले यहाँबाट आइएमई मार्फत भारतमा पैसा पठाउने गर्छन् ।
सामान्यतया भारतबाट एक सेट लागुऔषध २ सयदेखि ४ सय रुपैयाँसम्ममा किनेर पोखरा ल्याउँदा २ हजारदेखि २५ सय रुपैयाँमा बिक्री हुने प्रहरी अनुसन्धानले देखाएको छ ।
पोखरामा आइतबारदेखि नै लागु औषध नियन्त्रणसम्बन्ध प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको उद्घाटन गर्न आएका केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्नेतले पोखरा ब्युरोले ठूलो मात्रामा लागुऔषध नियन्त्रणमा लिएको भन्दै प्रशंसा गरे।