काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बुधबार बस्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भावी योजना, बजेट र त्यसका लागि थप संरचना तयार पार्नेगरी आवश्यक निर्णय लिन बुधबार निर्देशक समितिको बैठक बोलाइएको हो ।
निर्देशक समितिको बैठकका लागि आईतबार प्राधिकरणले एजेन्डा तयार पारेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले संस्थाको भावी योजनासहितको एजेन्डा तयार पारेको हो ।
भावी योजना, बजेट र त्यसका लागि आवश्यक संरचना बनाउने विषयमा निर्णय लिनेगरी एजेन्डा तय गरिएको प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षमा प्राधिकरणका लागि करिव १ खरव ४५ अरव ९३ करोड बजेट विनियोजना गरेको छ । प्रधानमन्त्री आफै अध्यक्ष रहेको निर्देशक समितिले विनियोजित बजेटसमेत स्विकृत गर्नुपर्ने कानुनी व्यवस्था छ ।
प्राधिकरणले भूकम्प प्रभावित ३७ जिल्लामा पनि प्राविधिक जनशक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ । १४ अतिप्रभावित जिल्लामा काम भइरहेको र अव प्रभावित ३७ जिल्लाको कामलाई तीव्र गतिमा अघि बढाउन प्राविधिक जनशक्ति व्यवस्था गर्ने काम सुरु गर्न लागिएको प्राधिकरणका उपसचिव भुसालले जानकारी दिए ।
आवश्यक कार्यालय समेत खोलेर प्रभावित जिल्लाको पुनर्निर्माणको कामलाई पनि तीव्रता दिने प्राधिकरणको योजना छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितहरुको गुनासो पुनरावलोकनको कामलाई पनि तीव्र गतिमा अघि बढाएको दावी गरेको छ ।
भूकम्पपछि जोखिममा परेका बस्ती स्थानान्तरण, सम्पदा क्षेत्रमा आयआर्जन लगायतका कार्यक्रमलाई पनि योजनावद्ध ढंगले अघि बढाउने निर्णय लिइएको प्राधिकरणले जनाएको छ ।