संगालोखबर सम्वाददाता

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अन्तर्गत आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाईदैछ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्ने गरेको भएपनि यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

Advertisement

आज बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने चलन छ । यसरी बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ । घरको पहरेदारको रुपमा खटिने कुकुरलाई आज पूजा गरेर मिठो खानेकुरा दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ ।

साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिन्छ । घरका झ्याल, ढोका, कोठा, सँघार, कौसी, भर्र्याङलगायत स्थानमा दीप प्रज्वलन गरी दीपावली गर्ने चलन छ ।

दीपावलीसँगै पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ । आज बिहान गाईको पुजा गर्ने र साँझ भैलो खेल्ने प्रचलन पनि छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!