Rabin Katel

धनकुटा, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका सातवटै स्थानीय तहमा विजयी हुन सफल एमाले धनकुटाबाट पाठ सिकेर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

चुनावमा विजयीहरुलाई बधाई तथा शुभकामना दिन धनकुटा आईपुगेका एमाले अध्यक्ष ओलीले शनिवार विजय सभालाई संबोधन गर्दै सवै स्थानीय तहमा जित्न सफल धनकुटाबाट पाठ सिकेर सफलताको बाटोमा अघि बढ्न देशभरका नेता कार्यकर्तालाई आग्रह गरेका हुन ।

Advertisement

‘धनकुटामा एमालेले नयाँ रेकर्ड कायम गरेको छ ।’ ओलीले भने ‘धनकुटाबाट पाठ सिकेर यसरीनै सवैतिर जित हासिल गर्न सवै नेता कार्यकर्ता लाग्नुहोस् ।’ विजयी सभामा करिव एक घण्टा बोलेका ओलीले धनकुटाको विजय प्रति प्रसंसा गर्नमै अधिकांस समय खर्चिएका थिए ।

धनकुटामा आयोजित विजय सभालाई संबोधन गर्दै ओली । तस्वीर: रबिन कटेल/संगालोखबर

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेले धनकुटाका सातवटै स्थानीय तहमा प्रमुख र उप–प्रमुखसहित जिल्लाका ३ सय १४ पद मध्ये २ सय ६० पदमा विजय हासिल गरेपछि निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन ओली धनकुटा आएका हुन ।

विजय सभामा अध्यक्ष ओलीले पार्टीका धनकुटा अध्यक्ष राजेन्द्र राईलाई चुनावको ‘म्यान अफ द म्याच’ घोषणा पनि गरेका छन । नगरपालिकाका ५२ वटै पदमा एमाले बिजयी भएपछि पाख्रीवास नगर कमिटिका अध्यक्ष शान्तिराम गौतमलाई पनि अध्यक्ष ओलीले अभिनन्दन गरे ।

मन्तब्य कै क्रममा अगाडी बोलाएर जिल्ला अध्यक्ष राई र पाख्रीवास नगर अध्यक्ष गौतमलाई माला र अविर लगाई ओलीले अभिनन्दन गरेका थिए । ‘केही जिल्लामा अन्य पार्टीका साथीहरुले धेरै फुर्ति लगाउँनुहुन्छ’ ओलीले हास्दै भने ‘धेरै फुर्ती नदेखाउँनुहोस, फेरी धनकुटाबाट राजेन्द्र राई पठाईदिउला ।’

जिल्ला अध्यक्ष राजेन्द्र राईलाई अभिनन्दन गर्दै ओली ।

स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनबाट एमाले मुलुकको पहिलो पार्टी बन्न सफल भएको उल्लेख गर्दै ओलीले तेस्रो चरणमा हुने प्रदेश नं. २ को निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन ।

तराई केन्द्रित दलहरुको बन्द हड्तालका कारण मधेशी जनता आजित बनेको भन्दै ओलीले अवको चुनावमा एमालेलाई जिताएर शान्तिपुर्ण वातावरणमा बस्न २ नम्बर प्रदेशवासी आतुर रहेको बताए ।

फरक प्रसंगमा ओलीले एमालेलाई अहिले सरकारमा जान हतार नभएको उल्लेख गर्दै स्पष्ट बहुमत ल्याएर आफ्नै नेतृत्वमा एमालेले सरकार गठन गर्ने बताए ।

धनकुटामा आयोजित बिजय सभामा सहाभागिहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

सरकारमा प्रतिपक्ष भएपनि जनताको साथका कारण स्थानीय तहको निर्वाचनबाट मुलुकको पहिलो पार्टी भएकाले अव एमालेले देश हाक्ने ओलीको भनाई छ ।

एमाले सचिव एवं प्रदेश नं १ का संयोजक भीम आचार्य, सचिव प्रदिप ज्ञावाली, काठमाण्डौका पूर्वमेयर केशव स्थापित लगायतले पनि बिजयी जनप्रतिनिधिहरुलाई बधाई दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement