बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेशसभाको दुई तिहाई बहुमतबाट पास गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा मतदान हुँदा भालुवाङलाई प्रदेश राजधानी बनाउँने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो ।
प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत खसेको छ । प्रदेशसभाका ८७ मध्ये बैठकमा ८२ सांसदमात्र सहभागी थिए । मतदान प्रक्रियामा जनमोर्चा भने सहभागी भएन ।
प्रदेश ५ सरकारले दाङ देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडी स्थायी राजधानी बनाउने प्रस्ताव पेश गरेको थियो ।
असोज १६ गते प्रदेशसभामा सो प्रस्ताव पेश भएपछि काँग्रेसले चर्को विरोध जनाउँदै आएको थियो । सोमबार सोही बिषयमा विवाद चर्किदा काँग्रेस सांसदले प्रदेशसभा बैठकमै टेवल, कुर्सी र माईक तोडफोड गरेका थिए ।