काठमाडौं । सहरी विकास मन्त्रालयले संयुक्त राष्ट्रसङ्घ (यूएन) पार्क (थापाथलीदेखि टेकुसम्मको बाग्मती किनार) क्षेत्रलाई व्यवस्थित बनाउने भएको छ । मन्त्रालयका सचिव, संयुक्त राष्ट्रसङ्घ पार्क विकास समितिका पदाधिकारीको बुधवार सम्पन्न बैठकले पार्कको सम्पूर्ण जग्गालाई व्यवस्थित गर्ने र प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बैठकमा सहरी विकासमन्त्री प्रभु शाहको उपस्थिति रहेको थियो । नेपाल सरकारद्वारा तोकिएको पार्क क्षेत्रमा केही व्यक्तिले खेतीपाती लगायतका कार्यमा अनधिकृत रूपमा उपभोग गरिरहेका सन्दर्भमा त्यसलाई नियन्त्रण गर्ने निर्णय बुधवारको बैठकले गरेको मन्त्री शाहको सचिवालयले बताएको छ ।
बैठकमा मन्त्री शाहले पार्कको जग्गामा भइरहेको विभिन्न कार्य रोकेर त्यसमा व्यवस्थित रूपमा पार्क बनाउन निर्देशन दिए ।
निजी उपयोगमा आइरहेको जग्गालाई नियन्त्रणमा लिई उक्त क्षेत्रमा पार्क निर्माण गर्नका लागि आवश्यक रकम उपलब्ध गराइनेसमेत मन्त्री शाहले प्रतिबद्धता व्यक्त गरे ।