नुवाकोट, २१ असार । जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य सामग्रीको उत्खनन बन्द गराएको छ।

Advertisement

असारदेखि भदौ तीन महिना नदीमा पानीको बहाव बढेकाले नदीजन्य सामग्रीको उत्खननले किनार क्षेत्रमा कटानबाट जोखिम निम्त्याउने भन्दै उत्खननमा पूर्णरुपमा रोक लगाएको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जानकारी दिए।

‘ठेक्का लगाएर नदी एवम् खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य सामग्री उत्खनन र निकासीमा रोक लगाएका छौँ’, स्थानीय विकास अधिकारी पण्डितले भने, ‘चालु आर्थिक वर्षमा लगाइएको ठेक्का सम्झौता जेठ मसान्तमा समाप्त भएकाले नदीजन्य सामग्री निकासीसमेत रोक्न प्रहरी समेत खटाएका छौँ।’

यो असार महिनासहित तीन महिना जिल्लाको त्रिशूली, तादी, लिखु, फलाखु, सलाखु, सामरी लगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टी लगायतका सामग्री उत्खननमा पूर्ण निषेध गरिएकाले त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ।

तीन महिनासम्म नदी र खोलामा ठेकेदार कम्पनी, राष्ट्रिय गौरवको आयोजना, राष्ट्रिय प्रथामिकता प्राप्त आयोजना लगायतलाई समेत उत्खनन बन्द गरिएको कार्यालयले जनाएको छ।

जिसस नुवाकोटले चालु आर्थिक वर्षमा नदीजन्य सामग्रीबाट  आठ करोड ५६ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ। आगामी आवका लागि दश करोड सात लाख रुपैयाँको बोलपत्र आह्वान गरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!