धरान। नेकपा माओवादीसंगै संघीय गठबन्धनले गरेको विरोधका कारण सोमबार ११ बजेदेखि स्थगित भएको मतगणना आज दिनभरि पनि हुन सकेन ।
मत गणनाको क्रममा गणक कर्मचारीहरुले ‘एउटाको मत अर्कोकोमा गणना गरेको’ भन्दै आएका गठबन्धनले पुन मतगणनाको माग गर्दै गणक कर्मचारीलाई कारबाहीको माग गर्दै दिनभरि जसो धरान ८ निर्वाचन कार्यालयमा चर्को नाराबाजीसहित धर्ना दिएको छ ।
पटक पटक बसेको सर्वदलीय बैठकले पनि पुन मतगणना गर्ने कुरामा निष्कर्ष निकाल्न नसकेपछि विवाद झन चुलिएको हो ।
एक चरणमा भएको छलफलमा हाल गणना सम्पन्न भएका ९, १० साथै गणना सुरु भएको ११ लाई थाती राखेर १२ नम्बरदेखि गणना सुरु गर्ने सहमति बनेको थियो ।
तर, माओवादी केन्द्र सहितको गठबन्धनका कार्यकर्ताहरुले गणनास्थल बाहिर नाराबाजी गरेकाले सो सहमति अनुसार मतगणना शुरु हुन सकेन ।
 राजनीतिक दलहरुका प्रतिनिधिहरुले धरान–९ र १० को पूर्ण गणना गर्नु पर्ने माग राखिरहेको निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए । उनले पुन मतगणना गर्न सम्भव नभएकोले मतगणना सम्पन्न भएको ९ र १० को ‘रि–टोटलिङ’ गर्न भने गर्न सकिने बताएका छन् ।
मत गणनामा भएको विवादलाई समाधान गर्न अहिले अनौपचारिक रुपमा छलफल चलिरहेको निर्वाचन कार्यालयले बताएको छ । दलहरुलाई सहमतिमा ल्याउने प्रयास भइरहेको समेत सहायक निर्वाचत अधिकृत खतिवडाले जानकारी दिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले समस्याको चाडै समाधान गर्न दल तथा निर्वाचन आयोगलार्ई आग्रह गरेका छन् ।
संघीय समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको मत नेकपा माले साथै एमालेमा गणना गरेको सार्वजनिक भएपछि विवाद सुरु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!