
विराटनगर । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा एकैदिन थपिएका मध्ये यो हालसम्मकै ठूलो संख्या हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरका ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको छ । यता, सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला १ पुरुष संक्रमित भएका छन् । त्यस्तै, झापाको कनकाईमा ७ महिला ६ पुरुष, विर्तामोड र बाह्रदशीमा १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तैगरी, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ । जसमध्ये १ हजार ८ सय ९६ जना निको भएका छन् । आज पनि प्रदेश १ मा ५२ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन चतराबाट ३१, वी.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबाट ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् ।
यसैबीच, प्रदेश १ मा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १/१ कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुँने संक्रमितको संख्या ४३ पुगेको छ ।















