
धनकुटा । धनकुटामा मात्रै बसोवास गर्ने आठपहरिया समुदायको मुख्य चाड न्वागी सुरु भएको छ । आफ्नै मौलिक भाषा, संस्कार, संस्कृति र परम्परा रहेको मुख्य चाड न्वागी मंगलबारबाट सुरु भएको हो । भदौ शुक्ल पूर्णिमापछिको मंगलबारदेखि आइतबारसम्म ६ दिन यो पर्व मनाउने चलन छ ।
पहिलो दिन मंगलबार मार्गाथान सरसफाइ, दोस्रो दिन बुधबार ओमाडाम अर्थात मार्गाथानमा कुखुराका चल्ला पुजा, तेस्रो दिन बिहीबार राँगोको भेजो लगाउने, चौथो दिन शुक्रबार भेजो मार्गाथानमा चढाउने तथा पितृ पुजा गर्ने, पाँचौ दिन शनिबार बनभोज खाने र छैटौँ दिन आइतबार चाडको विसर्जन गर्ने गर्छन् ।
यो समुदायले वैशाखमा कुल तथा पितृलाई वर्षा गराइदिन आग्रह गर्दै बाली लगाउने गर्दछन् । वर्षा गराएर बाली फलाउन सहयोग गरेको भन्दै न्वागी चाड मनाउने परम्परा रहेको किराँत आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सुर्य आठपहरियाले बताए ।
आठपहरिया समुदायले विषेश गरी न्वागी (भदौरे), विशु (वैशाखे) र वाडाङ्मेट (मंसिरे) गरी तीनवटा प्रमुख चाड मनाउने गर्दछन् । २२ थलोमा रहेका २२ वटा मार्गाथानी तथा ५२ चुले अर्थात् ठूलो घरमा आठपहरिया समुदायको विशेष पूजाआजा गर्ने परम्परा छ ।
उनीहरूको मुख्य चाड भनेको मंसिरे अर्थात् वाडाङ्मेट हो । त्यस्तै वैशाखमा आठ दिनसम्म विसु चाड मनाउने गर्दछन् । आठपहरिया समुदायका मानिसहरूमा पहिले-पहिले धनकुटाको अरुण र तमोर नदी कटेर बास बस्ने गरि जान हुँदैन भन्ने मान्यता थियो ।
तर पछिल्लो समय रोजगारीको सिलसिलामा युवाहरू देशका विभिन्न स्थान तथा विदेश पुग्ने गरेका छन् । तर चाडपर्व मनाउन तथा कुल पितृको पुजा गर्न भने धनकुटा नै फर्केर आउनुपर्ने मान्यता छ ।
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार धनकुटा नगरपालिकामा आठपहरियाको जनसंख्या ५ हजार ८ सय ७८ छ । उनीहरूको समुदायभित्र पनि छारा, हुम्बारक, किम्दाहाङ, लेङ्सुवा, पाङ्सुङलगायत १९ जातीय समूह रहेका छन् ।

सन्तोष सुवेदी/संगालोखबर 



















