रामेछाप।महिलाले पुरुषसरह काम गर्न सक्दैनन् भनी काममा नलगाएपछि रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ चचुरेका महिला महिलाको मात्रै समूह बनाई काममा लागेका छन्।

स्थानीय उपभोक्तामार्फत निर्माण भइरहेको चुचुरेको गर्जाङ–खहरे सडकमा पुरुषले सँगै काम लगाउन नमानेपछि त्यहाँका महिला छुट्टै समूह बनाएर काममा लागेका हुन्।

Advertisement

सो सडकमा महिला र पुरुषलाई समान कामका लागि समान ज्यालाको नीति कडाइका साथ लागू गरिएपछि पुरुषले महिलालाई काम लगाउन आनाकानी गरिरहेका छन्। पुरुषले महिलासँग काम गर्दा घाटा लाग्छ भन्दै समूहमा राख्न नमाने पछि आफूहरुले महिलामात्रको समूह बनाएर छुट्टै काम गर्न थालेको गोकुलगङ्गा गाउँपालिका–१ चुचुरेकी दीर्गमाया खत्रीले बताए।

चुचुरेका महिला अहिले पुरुषको आरोपलाई चुनौती दिँदै कम्मर कसेर काममा लागेका छन्। उनीहरु आफैँ ट्र्याक्टरमा ढुङ्गा लोड अनलोड गर्नेदेखि लिएर सोलिङ गर्नेसम्मको काममा लागेका छन्।

सांसद विकास कोषबाट प्राप्त रु १० लाख बजेटबाट गर्जाङ–खहरे सडक उपभोक्ता समिति बनेपछि अहिले उक्त बाटोमा नियमित महिला काम गरिरहेका छन्।

छसय मिटर लामो उक्त सडक स्तरोन्नतिको क्रममा खोलाबाट ढुङ्गा ल्याउनेदेखि फित्ता नाप्ने, खाल्डो पार्ने र ग्राभेल गर्ने कामसमेत महिलाले मात्र गरी रहेको कामदार लक्ष्मी तामाङले बताए।

यसो गर्दा दैनिक ५०० भन्दा बढी ज्याला पाउने उनको भनाइ छ। अहिले समूहका १० जना महिलाले काम गरिरहेका छन्। महिलाको समूहले गरेको काम प्रभावकारी रहेको चचुरेका प्राविधिक सहायक राजन कार्कीले बताए। साँच्चै यसरी नै महिला सबै ठाउँबाट विकास निर्माणमा लागेमा हाम्रो देश नमुना बन्ने उनले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!