ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल भदौ १ गते सोमबार ई. सं. २०२० अगस्त १७, नेपाल सम्बत ११४० गुंलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण त्रयोदशी चन्द्रमा कर्कट राशिमा, पूनर्वसु नक्षत्र, सिद्धि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ६:४० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३६ मिनेट देखि ७ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!