
काठमाडौं । सरकारले आज रातीबाट लकडाउन खोल्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले १२० दिन लामो लकडाउन खोल्ने निर्णय गरेको हो । पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले गत चैत ११ गतेबाट जारी रहेको लकडाउन खुल्ला गर्ने निर्णय भएको जानकारी दिए ।
लकडाउन लम्बिदै जाँदा जनजीवन अस्तव्यस्त बनेपछि सरकारले यसअघि लकडाउन केही खुकुलो गरेको थियो । तर, अब भने सरकारले पूर्ण रुपमा लकडाउन खोल्ने निर्णय भएको हो । लकडाउन खुल्ला भएपनि कोरोना संक्रमणको जोखिमका कारण सरकारले केही क्षेत्रमा भने प्रतिबन्ध कायमै राख्ने जनाएको छ ।
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायत मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खानामा भने प्रतिबन्ध कायम राखिएको छ ।
यता, होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न सरकारले अनुमति दिएको छ । विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न भदौ १ गतेबाट छुट दिईएको छ । यता, आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्लाका यातायात भदौ १ गतेबाट खुला हुनेछन् ।
भदौ १ गते अघि भने काठमाडौंभित्र उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन हुन पाउँछन् । निजी सवारी साधानमा लगाईदै आएको जोर विजोर प्रणाली पनि हटेको छ ।















