ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल असार २९ गते सोमबार ई. सं. २०२० जुलाइ १३, नेपाल सम्बत ११४० दिल्लागा अष्टमी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण पञ्चमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, सुकर्मा योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१८ बजे, सूर्यास्त साँझ ७ ः ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १७ मिनेट देखि ७ बजेर १ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन्न। तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जिम्मेबारीप्रति लापरबाही नगर्नु राम्रो हुन्छ, नत्र बन्नै लागेको काममा निराशा हुनसक्छ । पद र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयासमा ढिलो गरी सफलता मिल्नसक्छ । हाकिम वा मातापिताको सद्भाव र आशीर्वादले कुनै ठूलो काम बन्न सक्छ । सामाजिक सम्मान र साखका लागि केही प्रयास गरिनेछन । घरपरिवारमा सामान्यतया समय दिन सकिंदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, त)–
गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन। कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन। यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!