रमेशचन्द्र अधिकारी
रमेशचन्द्र अधिकारी, धनकुटा

प्राण प्यारा !
असिम माया
आज अन्तिम पटक बिन्ति बिसाउँदैछु
हजुर आज भूलक्कड नभइदिनु है
कयौ दिन भो रित्तो हात फर्कनु भो
पसिनाको झोला बोक्ने दिन पर्कनु भो
तर के गर्नु हजुर
चारो च्याप्न नपाएर
बचराहरु भोकमरीमा परिसके
बिहान जसोतसो नूनपानीले छाक टर्यो
बेलुकी अबोधहरुको
आन्द्राले सारङ्गी रेट्ने छ
भोलीको गर्जो भोली नै टारुँला
बनिबूतो गर्न खै कहाँ पो जाउँ र म
सर्बत्र बन्दाबन्दी छ
हजुर त उज्यालोको संकेत गर्दै
सखारै बाँस्दै हुनुहुन्थ्यो
आशाको गीत गाउँदै हुनुहुन्थ्यो

तर खै
भोको पेटले उज्यालो देख्दो रहेनछ
रित्तो मसी कलमले लेख्दो रहेनछ
मिर्मिरेदेखि घर बाहिरिनु भएको हजुर
साँझमा नबिर्सि चारो लिएर आउनु होला
चिसो चुल्हो बाल्नु छ
बचराहरु पाल्नु छ
अँधेरो फाल्नु छ
प्राण प्यारा
भरे नबिर्सि साथमा आश लिएर आउनु
भोक मेट्ने गाँस लिएर आउनु
खल्तीमा हात परे
यो प्राण प्यारीको चिठ्ठी नियाल्नु
उहि हजुरकी प्राण प्यारी ।।।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!