
बुद्ध तिमी फेरि जन्मनुपर्छ
आज बुद्ध जयन्तिको दिन
तिम्रो लुम्बिनी तिम्रो सम्झनामा
टोलाई रहेछ,
तिमीलाई बोलाई रहेछ
तिमी गएपछि यहाँ अनेकौं घटना घटे
अनगिन्ती बारुद र गोली पड्किए
भाई-भाई आपसमा लडेर
रगतका खोला बगाए
कयौंको काख रित्तियो
कयौंको सहारा खोसियो
दुधे बालक टुहुरा भए
त्यति मात्र नभएर
कहिले भूकम्पले घर भत्कायो त
कहिले बढीले बगायो
कहिले हावा, हुरिले बस्तीहरु तहस-नहस बनायो
कयौं सर्वहारा नेपालीलाई घरबारबिहिन बनायो
गाँस न बासको बनायो
भूकम्प र युद्धमा कयौं मठ-मन्दिर भत्किए पनि
तिम्रो जन्मथलो अझै सुरक्षित छ
पिपलको रुख तिमिलाई नै कुरिरहेको छ
यहाँ त दरबार झैं मन्दिरहरु बनाइएका छन्
अझ सुन्दर, शान्त र सफा हराबरा भएको छ
कयौं पर्यटकहरु देश-बिदेशदेखि
तिम्रो सम्झनामा यहाँ आउने गर्छन
तिमीलाई दर्शन गरेर
आफ्ना सारा दुःख-कष्ट भुल्न
बिरक्तिएको जिन्दगीमा उर्जा भर्न
हो बुद्ध तिमी फेरि एक पटक जन्मनै पर्छ
आज बुद्ध जयन्तिको दिन
तिम्रो धेरै याद आईरहेको छ
अघिल्ला जन्मदिनहरुमा यहाँ
देश-बिदेशबाट मोटर गाडी र जहाज चढेर
कयौं भक्तजनहरु दीप प्रज्वलन गर्न आउथ्ये
पिपलको बोटमूनि घण्टौसम्म आँखा चिम्लेर
तिम्रो नाम जप्दै ध्यान मग्न हुन्थे
तर आज विश्व महामारीले आक्रान्त छ
कोरोना नामको भाईरसले त्रसित छ
लकडाउनले मोटर जहाज बन्द छन्
आवत-जावत ठप्प छ
त्यस्तैले तिम्रो लुम्बिनी सुनसान छ
तै पनि आज तिम्रो याद आईरहेछ
सबैले आफ्नो मनदेखि तिमीलाई सम्झिरहेछन्
डाँफे, मुनाल तिम्रै गीत गाई रहेछन्
डाँडाभरी फुलेका लालीगुराँस पनि
तिम्रै जयजयकार गरिरहेछन्
देश बिदेशमा तिम्रै दीप प्रज्वलन हुँदैछ
साच्चै बुद्ध तिमी फेरि एक पटक जन्मनु पर्छ
तिम्रो मातृभूमिको संरक्षण गर्न
तिमीलाई जन्म दिने आमको खुशी फर्काउन
तिमी गएपछि, तिमीसँगै गएको
शान्ति अनि समृद्धि फर्काउन
सगरमाथाको शिर उठाउन
तिमी फेरि एक पटक जन्मनै पर्छ
तिम्रो पुनः जन्म हुनैपर्छ
हो विश्वास छ मलाई
तिम्रो पुनः जन्म हुनेछ
तिम्रो अभावमा तहस-नहस भएको
आफ्नो मातृभूमिको जगेर्ना गर्नेछौं
महामारीको चपेटाबाट
हामीलाई मुक्त गराउने छौं
शान्त, सुन्दर र समृद्ध विश्वको सिर्जना गर्नेछौं
विश्वास छ मलाई
तिम्रो पुनः जन्मको आशमा अल्झिरहेको
उहीँ तिम्रो जन्मभूमि लुम्बिनी
तिम्रो मातृभूमी लुम्बिनी















