
उदयपुर । लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेकाहरुलाई बोकेर उदयपुर आउँदै गरेको बस आज बिहान महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । बर्दिवास नगरपालिका–३ पाटुको घुम्तीमा बा.३ ख.४०३६ नम्बरको बस पल्दिँदा बसका सह–चालक दोलखाको तामाकोशीका २२ वर्षीय प्रदिप बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ३५ जना यात्रु लिएर उदयपुरको चौदण्डीगढी नगरपालिका आउँने क्रममा बस दुर्घटना भएको चौदण्डीगढीका मेयर खगेन्द्र राईले संगालोखबरलाई बताए ।
दुर्घटनामा परी तामाकोशी २ दोलखा घर भएका २३ बर्षीय बाबुराम बिश्वकर्मा घाइते भएका छन् । बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उनको उपचार भइरहेको छ । दुर्घटनामा परेको बसका यात्रुलाई अर्को बसमा राखेर ल्याउँने व्यवस्था मिलाइएको मेयर राईले जानकारी दिए ।
चौदण्डीगढी नगरपालिकाले काठमाण्डौंमा अलपत्र परेकाहरुलाई आज पाँच वटा बसमा राखेर गाउँ ल्याउँने व्यवस्था मिलाएको हो । काठमाण्डौंमा अलपत्र परेकाहरुलाई हिजो पनि पाँच वटा बसमा राखेर उदयपुर ल्याइएको थियो ।















