संगालोखबर सम्वाददाता

नयाँदिल्ली । भारतमा निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान फाँसी दिईएको छ । बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता, मुकेश सिंह र अक्षय कुमारलाई तिहाड जेलमा बिहान साँढे ५ बजे झुण्ड्याएर फाँदी दिईएको हो ।

Advertisement

बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरेका थिए । दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेस गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरेपछि उनीहरुलाई फाँसी दिइएको हो ।

के थियो घटना ?

डिसेम्बर १६, २०१२ मा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले रडले आक्रमण गर्दै सामूहिक बलात्कार गरेका थिए । घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भयो ।

निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शन भएको थियो । भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको हो । निर्भया मामिलामा भएका प्रदर्शन र आन्दोलन महिला प्रतिरोधी आन्दोलनका रुपमा विश्वमा चिनिएको थियो ।

बलात्कार तथा आक्रमणमा बस चालकसहित अरु पाँच जनाको संलग्नता थियो । घटनाका मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृत्यु भएको थियो । प्रहरीले राम सिंह आफै झुण्डिएर आत्महत्या गरेको बताएको थिए। ३३ वर्षीय सिंह त्यो बसका ड्राइभरसमेत भएको बताइन्छ ।

त्यस्तै घटनामा संलग्न भनिएका एक व्यक्ति भने घटना भएका बेला नाबालिग रहेको भन्दै ३ बर्ष सुधारगृहमा राखेर रिहा गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!