काठमाण्डौं । आज बडादशैंको सातौ दिन अर्थात फुलपाती । फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्री भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन्। उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ।

Advertisement

श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ। माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्। यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ। देवी कालरात्री दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ। यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ ।
माता कालरात्रीको आराधनाको समयमा भक्तलाई आफ्नो मनको भानु चक्र अर्थात् शिर मध्य स्थित गर्नुपर्छ ।

यो आराधानाको फलस्वरुप भानु चक्रको शक्ति जागृत भएर आउँछ । माता कालरात्रीको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ । जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्री आफ्ना भक्तलाई हर परिस्थितीमा विजय दिलाउँछिन् भन्ने विश्वास छ । सप्तमीको दिन माता कालरात्रीलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसै गरि गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता भाग्दछ ।

आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित फूलपाती भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स(साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!