संगालोखबर संवाददाता

काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ। सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेको छ । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार ६४ हजार निर्धारण गरेका छौँ,’ महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘यो मूल्य अहिलेसम्मकै रेकर्ड हो ।’

Advertisement

महासंघका अनुसार बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १३४४ डलरमा कारोबार भएको थियो । बिहीबार बढेर १३ सय ८० डलर पुगेको छ । जानकारका अनुसार चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको छ । इरान र अमेरिकाबीच भएको तनावले पनि लगानीकर्ताहरू सुरक्षित स्थान खोज्न थालेका छन् । जसले गर्दा भाउ बढेको महासंघको दाबी छ ।

‘अमेरिकाले हिजो मात्रै १ हजार सेना पठाउने निर्णय गर्‍यो । त्यसले लगानीकर्तामा तनाव सिर्जना भएको छ । ठूला लगानीकर्ताहरूले सम्पत्ति सुरक्षित गर्न सुनमा लगानी गर्न थाले,’ पूर्व अध्यक्ष शाक्यले भने, ‘सुनको माग बढेपछि मूल्य ऐतिहासिक रूपमा बढेको हो ।’

यसअघि २०७० भदौ १२ गते सुनको भाउ तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर मूल्य ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुन: ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । अहिले भने रेकर्ड नै भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement