काठमाडौँ । अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् ।

Advertisement

विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जिपिए) दिइने अक्षराङ्कन (लेटर ग्रेडिङ) का कारण यो सुधार देखिएको हो । ‘अक्षराङ्कन’ (लेटर ग्रेडिङ) भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइस्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ ।

आज सार्वजनिक नतिजाअनुसार कुल चार लाख ६२ हजार १२६ परीक्षार्थी सहभागी भएकाले चार लाख ४५ हजार ५६४ विद्यार्थीले ‘डी’ (१ दशमलव ६) ग्रेड हासिल गरी माथिल्लो कक्षामा पढ्न योग्य भएका छन् । गत वर्ष यस ग्रेडसम्म पाउने विद्यार्थीको सङ्ख्या चार लाख २५ हजार ५८२ थियो । त्यसअघिका वर्षको तुलनामा त्यो पनि सुधार हो ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले नतिजा हेर्दा सुधार आएको मान्न सकिने तर माथिल्लो तहमा पढ्न पाउन योग्य विद्यार्थीको सिकाइस्तर आफँैमा कस्तो छ भनेर अलग्गै मापन गरेरमात्र शिक्षाको समग्र गुणस्तरबारे विश्लेषण गर्नु उपयुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो – “ग्रेड पाउनु र सक्षम हुनु अलग हो । राष्ट्रिय योग्यता परीक्षा लिने प्रणाली भएमा सही मूल्याङ्कन हुन सक्ने थियो ।”

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट गत २०७२ मङ्सिर २३ मा स्वीकृत भई सोही वर्षको चैत ६ मा पहिलो संशोधन गरी शिक्षामन्त्रीस्तरको निर्णयबाट ‘विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ लागू भएको थियो । दुई विषयभन्दा बढी विषयमा ‘डी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेका विषयमा पुनः मूल्याङ्कन गराउन चाहेमा आगामी मूल परीक्षामा सहभागी हुन पाउनेछन् । यसरी मूल्याङ्कन गराउँदा प्राप्त ग्रेड समावेश गरी प्रमाणपत्र तथा लब्धाङ्कपत्र दिइनेछ ।

ग्रेड निर्धारण तालिका

९० र सोभन्दा माथि ‘ए’ं प्लस अति उत्तम ४.०
८० र सोभन्दा माथि ९० भन्दा कम ‘ए’ उत्तम ३.६
७० र सोभन्दा माथि ८० भन्दा कम ‘बी’ं प्लस धेरै राम्रो ३.२
६० र सोभन्दा माथि ७० भन्दा कम ‘बी’ राम्रो २.८
५० र सोभन्दा माथि ६० भन्दा कम ‘सी’ं प्लस सन्तोषजनक २.४
४० र सोभन्दा माथि ५० भन्दा कम ‘सी’ स्वीकार्य २.०
३० र सोभन्दा माथि ४० भन्दा कम ‘डी’ं प्लस आंशिक स्वीकार्य १.६
२० र सोभन्दा माथि ३० भन्दा कम ‘डी’ अपर्याप्त १.२
२० भन्दा कम ‘इ’ धेरै अपर्याप्त ०.८
(स्रोत ः पाठ्यक्रम विकास केन्द्र)

यस प्रणालीमा ‘प्रत्येक विषयको उत्तर पुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ र परीक्षा नियन्त्रण कार्यालयले सो अङ्क (सैद्धान्तिक र प्रयोगात्मक भएमा सोको कुल अङ्क) लाई तोकिएको अक्षर ग्रेड प्रदान गर्ने छ’, कार्यविधिमा भनिएको छ ।

‘डी’ प्लस र ‘डी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषय माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णय बमोजिम हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउनेछन् । यसअघि यसलाई विगतमा पूरक (मौका) परीक्षा भनिन्थ्यो तर मौका परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएकाले मात्र भाग लिने गरेकोमा यस प्रणालीमा जुनसुकै विषयमा प्राप्ताङ्क बढाउन पाइनेछ ।

कतिपय शिक्षालय र विषय हेरेर माथिल्लो कक्षामा भर्नाका लागि अलग अलग मापदण्ड पनि बनाइएकाले ‘डी’ ग्रेड पाउने सबैले सबै विषयमा पढ्न भने नपाउने परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!