Sangalo Khabar

काठमाडौं, १६ बैशाख। संघीय संसदको बर्खे अधिवेशन आजबाट सुरु हुदैछ । बजेट अधिवेशन भनेर चिनिने यो अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै आर्थिक वर्षको बजेट समेत ल्याउँदैछ ।

Advertisement

दुबै सदनको बैठक अपरान्ह चार बजेका लागि डाकिएको छ । छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइने छ ।

राष्ट्रपतिको संसद आह्वानसम्बन्धी पत्र सुनाएपछि चैत ११ गतेपछि निधन भएका सांसद तथा पूर्व सांसदहरुप्रति शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

पूर्व सांसद एवम् उद्योगी दिवाकर गोल्छाको चैत २६ गते, पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको चैत २८ गते तथा पूर्वमन्त्री एवं काँग्रेस नेता रामकृष्ण ताम्राकारको बैशाख १० गते निधन भएको थियो ।

यसैगरी बैठकमा राजनीतिक दलका नेताले सम्बोधन गर्ने प्रचलन भएपनि राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने वा नगर्ने स्पष्ट भइसकेको छैन ।

सोमबार दिउँसो १ः०० बजे कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ । सो बैठकले उक्त समय निर्धारण गर्नेछ । यसअघिको अभ्यासअनुसार अधिवेशन सुरु हुँदा शीर्ष नेताहरूले सम्बोधन गर्ने गरिएको थियो ।

यसैबीच संघीय संसदको चौथो अधिवेशनका लागि प्रतिनिधिसभामा २७ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौँथो अधिवेशनका लागि दर्ता भएका छन् ।

संसदको अधिवेशनका लागि औद्योगिक व्यवसाय र राष्ट्रिय मानव अधिकार आयोग (पहिलो संशोधन) विधेयक दर्ता भएका हुन् । दुवै विधेयक १० वैशाखमा दर्ता भएका हुन् । दोस्रो अधिवेशनमा दर्ता भएका चार र तेस्रो अधिवेशनका २१ गरी २५ विधेयक पनि चौथो अधिवेशनमा प्रस्तुत गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

दोस्रो अधिवेशनकै क्रममा दर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन), बीमा, प्रशासकीय अदालत र राहदानी विधेयक पनि प्रस्तुत गर्ने तयारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement