काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताउनुभएको छ ।

Advertisement

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसिएसन थाइल्यान्डले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको नागरिक छात्रवृत्ति कोषको शुभारम्भ गर्दै उहाँले गैरआवासीय नेपाली सङ्घजस्ता सहयोगी संस्थाले गर्ने आर्थिक सहयोगबाट नेपाली विद्यार्थीको अध्ययनको स्तर तथा प्राविधिक अनुभव वृद्घि गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले सो कोषबाट सङ्कलित रकमबाट गोरखा भूकम्पबाट प्रभावित विद्यार्थी लाभान्वित हुने पनि बताउनुभयो ।

कोषमा थाइल्यान्डमा रहेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसियसन थाइल्यान्डका विद्यार्थीले सङ्कलन गरेका रु ३५ लाख रहेका छन् ।

सो कोषले ८० जना नेपाली विद्यार्थीलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति दिइने तथा पहिलो पाँच वर्षसम्ममा भूकम्पपीडित विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने जनाएको छ ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाले भूकम्पबाट प्रभावित नेपाली जनताको उद्धारका लागि गैरआवासीय नेपाली सङ्घले गरेको सेवा सह्रानीय भएको बताउनुभयो ।

नेपालका लागि थाई राजदूत भाकभात तान्स्कुलले नेपाल र थाइल्यान्डबीचको सहयोगात्मक सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने बताउँदै थाइल्यान्डमा रहेका विद्यार्थीको सहयोगात्मक भूमिका मर्कामा परेका नागरिकको उत्थानमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएनएका अध्यक्ष शेष घलेले कोषका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!