
विराटनगर, ८ चैत । विराटनगरको शहिद रंगशालामासाफ भइरहेको साफ महिला च्याम्पियनसिप फाइनल अन्तर्गत नेपाल-भारत फाइनल खेलको टिकट दर बढाइएको छ । टिकट दर बढाएपछि समर्थकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् ।
११ बजेदेखि खुल्ला गर्ने भनिएको टिकट काउन्टर अहिले बन्द छ । सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको भएपनि शुक्रबार बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५ सय रुपैयाँ तोकिएपछि खेल हेर्न आउने दर्शकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् ।
पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज (शुक्रबार) हुँदै छ । फाइनलमा यसपटक पनि नेपालले भारतलाई नै आफ्नाे प्रतिद्वन्दी पाएकाे छ ।
हालसम्मका साफ महिला फुटबलमा नेपालले चौथोपटक फाइनल खेल खेल्दै छ । यद्यपि प्रत्येक पटकको फाइनलमा भारतलाई नै प्रतिस्पर्धीका रुपमा पाएको नेपालले हालसम्म उपाधि भने जित्न सकेकाे छैन । यस पटक पनि उपाधि सुरक्षित गर्ने होडमा अन्तिम लडाइँ भारतसँगै लड्नुपर्ने भएको छ र साे लडाइँमा जित हात पार्न सके नेपालले इतिहास नै रच्नेछ । न्युज २४















