काँकडभिट्टा (झापा) । मेचीनगरकै दुर्गम गाउँ मानिएको मेचीपारिको टापुमा रहेको १४ नं वडाका जनता स्थानीय तहको चुनावबारे अझै बेखबर छन् ।
जिल्लाका सबै गाउँबस्तीमा चुनावी लहर चलिरहँदा सो गाउँको झाडु, ग्लावा र होपना बस्तीमा मोटर बाटो नपुग्ने भएका कारण अहिलेसम्म कुनैपनि राजनीतिक दलका नेताले भोट माग्न नआएका कारण सुनसान भएको त्यहाँका बासिन्दा बताउँछन् ।
ज्यामिरगढीको यी तीन बस्तीलाई पूर्वतिर भारतीय बाँध र पश्चिमतिर मेची नदीले घेरेको छ । बगर र बाँधले घेरिएको मेची पारिको यो चर्चित टापुमा करिब ५० परिवारको बसोवास छ ।
उपेक्षित बस्ती हुनुको पीडा भोगिरहेका यहाँका बासिन्दाले यसपाली भोट माग्न आउने नेताहरुसंग एउटै प्रश्न सोध्ने भएका छन्–‘कहिले बनाउँछौ झोलुङ्गे पुल ?’
विसं.२०१० बसोबास शुरु भएको यहाँ अहिलेसम्म कयौँ नेता अनेक आश्वासन देखाएर भोटमाग्न आएपनि सिङ्गो नेपालसँग जोड्न यहाँ न सडक, न पुल, न बिजुली, नत सञ्चार सुविधा नै उपलब्ध गराएका छन् ।
स्थानीय नरेन्द्र यादवले भोट माग्न आउने उम्मेदवारसँग मेची खोलामा झोलुङ्गे पुल, खेतमा बाह्रैमास पानी लगाउने पैनी र तीन बस्तीलाई जोड्ने सडक बनाउन सर्त अघि बढाउने हुनुभएको छ ।
उहाँका अनुसार मेची नदीमा पुल नहुँदा बर्खामा तीन महिनासम्म नेपाली बजार र गाउँतिर आवतजावत गर्न नसकिने समस्या सुनाउँदै उहाँले भन्नुभयो–“त्यही कारणले स्कुल पढ्न पनि भारततिरै धाउनु परेको छ ।”
होपना बस्तीका ८४ वर्षीय सुपल बास्केले चुनाव आउँदा आश्वासन दिने र जितेपछि फर्केर एकपटक पनि नआउने नेताप्रति गुनासो गर्नुभयो । उहाँले यसपाली भोट माग्न आउने नेताले पुल बनाउने प्रतिबद्धता नगरेसम्म भोट नदिने बताउनुभयो । आक्रोषित बास्केले भन्नुभयो, “हामी त भोट दिन्छौँ नि, तर नेताले हामीहरुलाईं केही दिन सकेनन् ।”