चिप्लेढुङ्गा, २३ फागुन । पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

Advertisement

जिल्ला अदालतको अनुमतिपछि १० जनालाई पक्राउ पुर्जी जारी गरेर खनाल र शर्मालाई उनको निवासबाट बुधबार राति पक्राउ गरिएको र बाँकी आठ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो ।

विद्यार्थीले गण्डकी मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष खुमा अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल डा रवीन्द्र श्रेष्ठ, फाइनान्सियल कन्ट्रोलर युवराज शर्मा, स्टोर किपर कृष्ण पौडेल, लेखाका हरि पौडेल, कर्मचारी दिनेश पौडेल र तिलक पौडेलविरुद्ध उजुरी दिएका थिए । आफूहरुबाट रु ५५ करोडभन्दा बढी ठगी गरेको भन्दै अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल– भौचर दिनुपर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय बढी विद्यार्थी एक महिनादेखि आन्दोलनमा छन् ।

प्रतिव्यक्ति रु आठदेखि १८ लाखसम्म बढी रकम असुल्ने गरेको विद्यार्थीको आरोप छ । आन्दोलनका क्रममा कलेजको बहिरङ्ग सेवाको कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरेसंँगै करीब एक महीनादेखि सो सेवासमेत प्रभावित भएको छ । सरकारले काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेजमा एमबिबिएसको शुल्क रु ४२ लाख शुल्क निर्धारण गरे पनि कलेजले भने रु ५५ लाखसम्म असुल्ने गरेको विद्यार्थीको आरोप छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!