भद्रपुर, २३ फागुन । कृषि ज्ञान केन्द्र भद्रपुरले आर्थिक वर्ष २०७५/७६ मा हाइब्रिड मकैखेती विस्तारका लागि १५ संस्थालाई रु ४५ लाख अनुदान रकम प्रदान गरेको छ । हाइब्रिड मकैखेती विस्तार आयोजना कार्यक्रमअन्तर्गत नगद प्रोत्साहनमा आधारित माग गर्ने कृषक समहू, कृषि सहकारी र उद्यमीको स्वीकृत क्षेत्रफलमा आधारित रहेर सो अनुदान वितरण गरिएको हो ।

Advertisement

अनुदान रकम लिन सफल हुनेमा सबैभन्दा बढी कचनकवल गाउँपालिका र दोस्रोमा झापा गाउँपालिका रहेको केन्द्रका कृषि प्राविधिक भट्टराईले बताउनुभयो । उहाँका अनुसार २० हेक्टर क्षेत्रफल रहेको जमीनलाई एक क्लस्टर बनाएर प्रतिसंस्था रु तीन लाख रकम अनुदान प्रदान गरिएको छ ।

अनुदान पाउने संस्थामा कचनकवल गाउँपालिका साना किसान सहकारी संस्था, हेल्लो कृषक समूह, जलउपभोक्ता कृषि सहकारी संस्था र दुर्गा लक्ष्मी साना किसान कृषि सहकारी संस्था रहेका छन् । अर्जुनधारा–८ को हात्तीकिल्ला कृषक समूह, ९ र १० नं वडाका उद्यमी कृषक, भद्रपुर–३ का उद्यमी कृषक, बिर्तामोड ९ र ७ का कृषक र कनकाई नगरपालिकाको प्रगतिपथ कृषि सहकारी संस्था रहेको प्राविधिक भट्टराईले बताउनुभयो ।

झापा धानपछि मकै खेतीका लागि उर्वरभूमि भएको बताउँदै प्रमुख भट्टराई भन्नुहुन्छ, “भारतबाट वर्षेनी ठूलो परिमाणमा भित्रिएको मकैलाई निरुत्साहित गर्न र किसानलाई प्रोत्साहित गर्न सरकारले अनुदान रकम वितरण गरेको हो । उहाँले हाइब्रिड जातको मकै ‘दाना’ बनाउन उपयुक्त हुने हुँदा विशेषगरी सरकारले हिउँदे मकै उत्पादनमा ध्यान दिएको बताउनुभयो । झापामा मकैखेतीका लागि हावापानी अनुकूल रहेको हुँदा प्रतिहेक्टर छ देखि सात टनसम्म मकै फल्ने अपेक्षा गरिएको भट्टराईले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!