लमही, २२ फागुन । थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ ।

Advertisement

नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारूको पहिचानसँग जोडिए छ”, उहाँल भन्नुभयो, “तर नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।” नयाँ पुस्ता शिक्षा तथा प्रविधितर्फ मात्रै बढी ध्यान दिने तर आफ्नो पहिचान जोगाउनतर्फ कुनै ध्यान नदिँदा लोप हुने अवस्थामा रहेको उहाँको भनाइ छ । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर ढकिया निर्माण गर्नतर्फ प्रेरित गर्नुपर्ने समेत उहाँको तर्क छ ।

पूजाआजा र शुभकार्यका लागि प्रयोग गरिने, विवाहमा दाइजो तथा मृत्युवरणको बेला दानको रुपमा ढकिया दिने थारू समुदायको चलन रहेको थारू अगुवा रुपलाल चौधरीले बताउनुभयो । साथै दाङको कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि यसको प्रयोग गर्ने गरिएको छ । अतिथिलाई उपहारका रुपमा ‘ढकिया’ दिने चलन पनि रहँदै आएको छ ।

लोप हुन लागेको ‘ढकिया’ को संरक्षणका लागि नयाँ पुस्तालाई यस सम्बन्धी तालीम दिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । “ढकियाले थारूको पहिचान झल्काउँछ”, रुपलाल चौधरीले भन्नुभयो, “तर थारू समुदायका युवाले ढकिया बुन्नतर्फ ध्यान नदिएकाले उनीहरुलाई तालीमको आवश्यकता छ ।”

थारू समुदायको बाहुल्यता रहेको जिल्ला दाङ भए पनि यहाँका थारू समुदायले ढकिया बुन्न छोडेको भन्दै यसका लागि प्रदेश तथा स्थानीय सरकारले समेत चासोका साथ हेर्नुपर्ने अर्का थारू अगुवा सीता चौधरीले बताउनुभयो । “ढकियालाई दाङको चिनोको रुपमा विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो “प्रदेश र स्थानीय सरकारको समन्वयमा ढकियालाई दाङको चिनोका रुपमा विकास गर्नुपर्छ ।”

वनमा पाइने बाँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ । ढकिया लोप हुन थालेपछि यसको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–९ का २१ थारू महिलालाई ढकिया निर्माण सम्बन्धी तालीम प्रदान गरिएको छ । थारू समुदायको कला र पहिचानसँग जोडिएको ढकिया बनाउने काम पछिल्लो समय नयाँ पुस्ताले छोड्दै गएको भन्दै वडा नं ९ को आर्थिक सहयोगमा ढकिया निर्माण तालीम प्रदान गरिएको हो ।

ढकिया निर्माणको कार्यलाई व्यावसायिक रुपमा अगाडि बढाउने तालीममा सहभागी लक्ष्मी चौधरीले बताउनुभयो । “हामीले ढकियाको महत्व बुझेका थिएनौँ”, उहाँले भन्नुभयो, “तर तालीम लिएपछि अहिले ढकियाको महत्व बुझ्यौँ, अब हामी समूह बनाएर व्यावसायिक रुपमा अगाडि बढ्छौँ ।”

दाङ थारूहरुको एतिहासिक भूमि भएकाले थारू कला, साहित्य र संस्कृतिको प्रतीकका रुपमा रहेको ढकियालाई व्यावसायिक स्वरुप दिनुपर्नेमा थारु अगुवाहरुको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!