काठमाडौं, १५ फागुन । नेपाली काङ्ग्रेसले ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

Advertisement

पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढ्नुभएका मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो भन्नुभएको छ ।

सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र उहाँको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको उहाँले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ ।

दुर्घटनामा ज्यान गुमाउनुभएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा शोक सहन शक्तिका लागि भगवानसँग प्राथना गर्दै पार्टीले दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ ।

यसैबीच विवेकशील साझा पार्टीले हेलिकोप्टर दुर्घटनामा परी पर्यटन तथा नागरिक उड्ययनमन्त्री अधिकारीसहित सात जनाको निधन भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!