
दमौली, ६ फागुन । तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ । उहाँलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उहाँको चाहना पूरा हुनसकेको छैन ।
पिउने पानी जोहो गर्न नै कठिन रहेको बताउँदै उहाँले तरकारी खेतीका लागि पानीको जोहो गर्नु त झन् कठिन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पिउनको लागि पानी छैन, तरकारी खेतीका लागि कहाँबाट पानी ल्याउनु ? जग्गाजमीन यसै बाँझो राख्नुपर्ने अवस्था छ ।”
पानीकै अभावमा भएको जग्गा जमीनमा तरकारी समेत रोप्न नपाएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार यस ठाउँका महिला बिहान ४ बजेदेखि नै पानी लिन कुवामा जाने गरेका छन् ।
दर्लामीका अनुसार पिउने र सरसफाइ गर्ने पानी लिनका लागि एक घण्टा भन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो, “पिउने पानीकै जोहो गर्न कठिन छ, अन्य कामका लागि पानीको जोहो गर्न सकिरहेका छैनौ ।” बिहान हुने वित्तिकै पानीको जोहो गर्न कुवामा जानुपर्ने अवस्था रहेको उहाँको गुनासो छ ।
मगर जातिको बसोवास रहेको यस ठाउँमा खानेपानीकै समस्याले गर्दा स्थानीय मर्कामा परेका छन् । खानेपानीकै अभावले यहाँका केही स्थानीयवासीले बसाइसराइ गरेका छन् ।
स्थानीयवासी अमर थापाका अनुसार केही वर्ष अगाडिसम्म ९८ घरधुरीको बसोवास रहेको यस ठाउँमा अहिले ६८ घरधुरी छन् । उहाँले भन्नुभयो, “खानेपानीको अभावले गर्दा कतिले यो ठाउँ छाडिसके, अझै कतिले छोड्ने हुन् थाहा छैन ।” उहाँका अनुसार यस ठाउँका मानिस दमौली आसपास बसाइँ सरेका छन् ।















