लहान, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउनुभएको छ ।

Advertisement

सदरमुकाम सिरहामा आज आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धैर्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।”

प्रधानमन्त्री ओलीले व्यवहारिकरुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजनाअन्तर्गत प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्नेजस्ता कार्य अघि बढाइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, दु्रतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कल कारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य सरकारले अगाडि बढाएको छ ।”

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएकाले समाज परिवर्तनका लागि अब विलम्ब गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

“तराई–मधेश भएर बग्ने ठूलठूला नदी जस्तै कोशी–कमला डाइभर्सनलगायतका सिँचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “मधेशको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ, सहकारिताका माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेशमा निर्यात गर्न सकिए छिट्टै समृद्धि सम्भव छ ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरुलाई पठाएको हो, अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो, त्यसप्रति हामी पूर्णरुपमा प्रतिबद्ध छौँ ।”

अब कुनै पनि बालबालिका विद्यालयभन्दा बाहिर नरहोस् भन्ने उद्देश्यले सरकारबाट विद्यालय भर्ना अभियान सञ्चालन गरिएको बताउँदै उहाँले यसलाई सफल बनाउन अभिभावकसँग आग्रहसमेत गर्नुभयो ।

भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश नं २ अर्थात् मधेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष प्याकेज ल्याइएको स्पष्ट पार्दै मधेशकै लाइफ लाइनका रुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको काम तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो ।

हुलाकी सडकअन्तर्गत कमला र बलान नदीमा निर्माणाधीन पुल निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनसँग तोडेर एक वर्षभित्र निर्माण सकिनेगरी लुम्बिनी बिल्र्डस र शर्मा कन्ट्रक्सनलाई दिइएको बताउँदै उहाँले मधेशका जिल्लाको सदरमुकाम जोड्ने सडक चार लेनको स्तरोन्नतिका लागि डिपिआर बनाउने कार्य तीव्ररुपमा अघि बढेको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!