पाँचथर, १६ माघ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पुस्तौँदेखि गरिँदै आएको भेडापालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । खर्कको अभावले भेडीगोठ मासिने अवस्थामा पुगेको कृषकको भनाइ छ ।
उत्तरपूर्वी क्षेत्रमा पाँच दशक लामो समय भेडीगोठ सम्हालेर बसेका फालेलुङ–४, गुरुङटारका क्यादरलाल गुरुङले केही वर्ष अघि खर्कको अभावले भेडीगोठ छोड्नुभयो । अहिले गुरुङसँग ५० भेडामात्र छन् तर आफ्नो गोठमा होइन, अर्काको गोठमा ।
२०२१ सालदेखि भेडीगोठ बस्न थालेका क्यादरलालका भेडा आफ्नो गोठ नभएपछि अहिले अर्कै गोठको गोठालाले हेर्छ । उत्तरपूर्वी पाँचथरको याङवरक–१, च्याङथापुका गर्जमान गुरुङले पनि ३५ वर्षदेखि गर्दै आएको भेडीगोठ गत वर्ष बेच्नुभयो । अहिले उहाँ अर्कै पेशामा हुनुहुन्छ ।
क्यादरलाल र गर्जमानजस्तै अन्यले पनि भेडीगोठ छाडेका छन् । गर्जमानले भन्नुभयो– “१५ वर्षअघि पाँचथरमा मात्र एक दर्जन जति भेडीगोठ थिए, त्यो सङ्ख्या घट्दै आएर अहिले तीन वटामा झरेको छ ।” उहाँका अनुसार चरिचरन क्षेत्रको अभाव भेडीगोठ मासिनुको प्रमुख कारण हो । किसानले अलैँची, चिराइतो, अम्लिसोजस्ता बिरुवा लगाएपछि तल्लो क्षेत्रमा खर्कको अभाव हुँदा भेडीगोठको अस्तित्व सङ्कटमा परेको हो ।
एउटा चोकमा कम्तीमा २०० भन्दा बढीको सङ्ख्यामा भेडा हुन्छन् । त्यसैले राम्रो घाँस भएको क्षेत्रमा पनि बढीमा एक हप्तादेखि दश दिनसम्म मात्र भेडा राख्न सकिन्छ । घाँस कम भएको क्षेत्रमा बढीमा पाँच दिनसम्म मात्र राख्न सकिन्छ ।
एउटा खर्कदेखि अर्को खर्कमा सारिरहनुपर्ने भएकाले भेडाको लागि ठूलो चरन क्षेत्र आवश्यक पर्ने गर्जमाको भनाइ छ । तर, विभिन्न बिरुवा र बाली लगाइएपछि विगतका चरन क्षेत्र अहिले साँघुरो बनेका छन् । गर्मीयाममा लेकको खर्कले धाने पनि जाडोयाममा बेँसी क्षेत्रमा चरन क्षेत्र अभाव हुँदा भेडीगोठ लोप हुने अवस्थामा पुगेको क्यादरलालले बताउनुभयो ।
नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रको भारततिरको भू–भागमा कडाइ गरिएपछि अहिले लेक क्षेत्रमा पनि चरिचरनको समेत समस्या रहेको भेडीगोठ व्यवसायी बताउँछन् । त्यस्तै भेडालाई जङ्गली जनावरले आक्रमण गर्ने, विभिन्न रोग लाग्ने र गोठालो नपाइने समस्याले पनि भेडीगोठ मासिँदै गएको कृषकको गुनासो छ ।
अहिले जिल्लामा याङवरक च्याङ्थापुका वीरबहादुर बेघा, फालेलुङ मेमेङका टेकबहादुर गुरुङ र फालेलुङ खुगाँका दीपेन्द्र आङ्बोले मात्र भेडीगोठको अस्तित्व बचाइरहेका छन् ।
भेडाबाट लाभै लाभ
भेडापालन व्यवसायमा मुख्य आम्दानीको स्रोत पाठापाठी, ऊन र घ्यूको बिक्री हो । भेडाको ऊनबाट आकर्षक राडीपाखी बनाइन्छ भने घ्यू औषधिको रूपमा प्रयोग हुन्छ ।
तीन सय भेडासहितको रु १५ लाख मूल्य बराबरको भेडीगोठ सञ्चालन गर्दै आएका दीपेन्द्र आङ्बोका अनुसार भेडाको घ्यू आगोले पोलेको, पिल्सेको र हातखुट्टा मर्केको अवस्थामा औषधिको रूपमा प्रयोग गरिन्छ । उहाँले भन्नुभयो, “अहिले हामी अढाइ महीनासम्मको पाठापाठी प्रतिगोटा दश हजार, घ्यू प्रतिकेजी रु दुई हजार ५०० र ऊन प्रतिकेजी रु ४०० सम्ममा बिक्री गर्दै आएका छौँ ।”
अहिले राडीपाखी बनाउन सीप भएकानै कम भेटिने हुनाले ऊनको बिक्री खासै राम्रो नभएको भेडापालक व्यवसायी बताउँछन् । ओछ्याउनलाई आधुनिक र आकर्षक किसिमका बजारीया सामग्रीमा मानिसको आकर्षण बढेपछि घरैमा बनाइने राडीपाखी कम बिक्ने गर्दा अत्यन्तै कमले मात्र राडीपाखी व्यवसाय गर्ने गरेको उनीहरूको भनाइ छ ।
भेडीगोठ लोप भएर सकिने अवस्थामा पुगेपछि भेडालापनलाई हराएर जान नदिन केहीले खोरमै कोचेर भेडा पालिरहे पनि खोरका भेडा खुला खर्कमा रमाउँदै चर्ने भेडाजस्तो नहुने भेडीगोठ सञ्चालक टेकबहादुर गुरुङले बताउनुभयो ।
राज्यस्तरबाटै पहल हुनुपर्ने
राज्यस्तरबाट खर्कको व्यवस्थापन, औषधोचारको व्यवस्था, ऊनको बजार व्यवस्थापन जस्ता भेडीगोठलाई प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम ल्याइए भेडीगोठ मासिएर जानबाट रोक्न सकिने कृषकको भनाइ छ ।
विगतको तुलनामा अहिले भेडीगोठबाट राम्रो आम्दानी गर्न सकिने भए पनि विभिन्न समस्याले भेडीगोठ राख्नै नसकिने अवस्था सिर्जना हुँदै गएको कृषकको गुनासो छ । पाँचथरमा मात्र होइन, छिमेकी ताप्लेजुङ र इलाम जिल्लामा पनि भेडीगोठ मासिएर जाने अवस्थामा पुगेको छ ।
भेडीगोठ संरक्षणका लागि आवश्यक योजना बनाउन छलफल भइरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङको भनाइ छ । आउँदो आर्थिक वर्षमा भेडीगोठ संरक्षणका लागि कार्यक्रम ल्याइने केरुङले बताउनुभयो ।