संगालोखबर


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल-मीन’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ ।

विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आज भएको तेस्रोे खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २-१ ले सुनसरीले उपाधि जितेको हो ।

Advertisement

पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१ रनले जितेको थियो । टस जितेर ब्याटिङ गरेको सुनसरीले खराब मौसमको कारण ४० ओभरमा छोट्याएको खेलमा पुरै ओभर खेल्दै सबै विकेट गुमाई १ सय ४६ रन बनायो ।

सुनसरीका कप्तान प्लेयर अफ म्याच रविन मण्डलले ८१ रन बनाउँदा रोशन घिमिरेले १० रनको योगदान दिए । मोरङका कृष शर्माले ३ विकेट लिँदा कृतिक कामतले २ विकेट तथा प्रतीक पोखरेल, यथार्थ बचन यादव र अमर यादवले १-१ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको लक्ष्य पाएको मोरङ २७ दशमलव ४ बलमा सवै विकेट गुमाई मात्र ७२ रनमा अलआउट भयो । मोरङका प्रतीक पोखरेलले १९ रन बनाउँदा कृष शर्माले १२ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

सुनसरीका कविराज खत्रीले ७ ओभरमा २ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिँदा रविन मण्डलले ३ विकेट लिए । प्लेयर अफ सिरिज सुनसरीका कविराज खत्री घोषित भए भने उत्कृष्ट ब्याटर सुनसरीकै रविन मण्डल, उत्कृष्ट बलर मोरङका कृष शर्मा घोषित भए । त्यस्तै उदयमान खेलाडी सुनसरीका अब्दुल रफा भए ।

विजयी तथा अन्य खेलाडीलाई पूर्व खेलाडीद्वय अनिल श्रेष्ठ र मिन दाहाल, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष महमद सादबाबु, सुनसरी क्रिकेट संघका अध्यक्ष सिपी पौडेल, फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी भएको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको सम्मानका लागि प्रतियोगिता गरिएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!