संगालोखबर


विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरिएको छ ।

विराटनगर महानगरपालिका अन्तर्गतका प्रधानाध्यापकहरूको भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

Advertisement

नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराई उपाध्यक्ष, विराट आधारभूत विद्यालयका अरविन्द यादव सचिव, सिद्वकाली आधारभूत विद्यालयका भोजराज अधिकारी सहसचिव र सार्वजनिक माध्यमिक विद्यालयका खगेन्द्र खवास कोषाध्यक्ष चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा शिव आधारभूत विद्यालयका जगन्नाथ कामत, विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयका झंकप्रसाद पराजुली, ज्योति आधारभूत विद्यालयका वेदनिधि भट्टराई र जनता माध्यमिक विद्यालय इक्राहीका शिवराज विष्ट चयन भएका छन् ।

पञ्चकन्या आधारभूत विद्यालयका चन्द्र रेग्मी, रघुपति आधारभूत विद्यालयका शिवचन्द्र सिंह, जागृत आधारभूत विद्यालयका दधिराम नेपाल, दिधि आधारभूत विद्यालयका हस्तकला राई र राम आधारभूत विद्यालयका राजीवकुमार यादव पनि सदस्यमा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले सामुदायिक विद्यालयको व्यवस्थापन, शैक्षिक सुधार र शिक्षक-अभिभावक समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । उनले विद्यालयको सिकाइ उपलब्धि सुधार, प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तार तथा विद्यार्थी भर्ना र निरन्तरता बढाउन प्यानले सक्रिय भूमिका खेल्ने उल्लेख गरे ।

भेलामा सहभागी प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास अभिवृद्धि गर्न एकीकृत प्रयास आवश्यक रहेको औँल्याउँदै नीतिगत सुधारका लागि स्थानीय तहसँग सहकार्यलाई सुदृढ बनाउने सहमति जनाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!