कृष्णनगर, १५ माघ ।  कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जाविहीन अवस्थामा रहेको छ ।

Advertisement

विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा करीब ११९ घरपरिवारको बसोबास छ । विसं २०६४ को कपिलवस्तु घटनामा विस्तापित भएकालाई पुनस्र्थापना गरी निर्माण गरिएको उक्त बस्ती एकदशक बितिसक्दासमेत लालपुर्जाविहीन छ ।

विसं २०६४ को घटनामा उजाड बनेको सो गाउँमा कारितास नेपाल र सहज नेपालले पुनर्वासका लागि करीब रु ५५ लाखको लागतमा १२३ घर निर्माण गरेको सहज नेपालका पूर्वअध्यक्ष शरद अधिकारीले बताउनुभयो ।

पुनर्वासमा बसेको एक दशक बित्दासमेत आफूहरुले भोगचलन गरेको घर जग्गाको लालपुर्जा नपाएको स्थानीयवासी खेतुलाल रानामगरले गुनासो गर्नुभयो । बस्ती बस्दा ७५० जनसङ्ख्या रहेको भए पनि अहिले सो बस्तीको जनसङ्ख्या करीब एक हजार ३०० को हाराहारीमा रहेको उहाँले बताउनुभयो ।

बस्ती बसाल्दा १२३ घरमा बसोबास गर्ने भए पनि हाल सो बस्तीबाट २०/३० घर विस्थापित भएका छन् । कतिपयले पुनर्वासमा पाएका घर अर्कैलाई बेचेर अन्यत्र गएको स्थानीयवासी सीतादेवी जलारीले बताउनुभयो ।

घरसहित एक परिवारलाई पाँच कट्ठा जमीन खेतीपाती गर्न तत्कालीन अवस्थामा दिइएको सहज नेपालका पूर्वअध्यक्ष अधिकारीले बताउनुभयो । स्थानीय तहमा घरधुरी कर तिरिरहेका भए पनि घर जग्गाको लालपुर्जा पाउन नसकेको स्थानीयवासी लोकबहादुर सुनारले बताउनुभयो ।

लालपुर्जाको समस्या स्थानीय सरकारले समाधान गर्न नसक्ने भएकाले आश्वासन मात्रै दिनु परेको नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । देशकै समस्याका रुपमा रहेको लालपुर्जाविहीनको समस्या देवीपुर गाउँमा मात्रै नभएर विजयनगर गाउँपालिकालगायत अन्यत्र ठाउँमा पनि रहेको प्रदेश नं ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!