काठमाडौ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो चरणको निर्वाचनमा चुनाव जिताउनका लागि आफू मैदानमा आएको बताए ।

Advertisement

सोलुखुम्बुको सोताङमा शुक्रबार चुनावी सभालाई सम्बोधन गर्दै दाहालले पहिलो चरणमा तेस्रो पार्टीको रुपमा देखिएको र त्यसमा आफू प्रधानमन्त्री भएकोले कुनै तयारी गर्न नभ्याएको बताए । ‘मैले त हाम्रो पार्टीले कति ठाउँमा जित्यो भन्ने नै थाहा पाएको थिइनँ । प्रधानमन्त्री छोडेर बुझ्दाखेरी ४६ ठाउँमा प्रमुख र ५२ ठाउँमा दोस्रो भएका रहेछौँ’ उनले भने, ‘त्यतिखेर म प्रधानमन्त्री रहेकोले आवश्यक तयारीमा हिँड्न पाएको थिइनँ । अब म प्रधानमन्त्री छोडेर मैदानमा आइसकेँ । अब हाम्रो जित सुनिश्चित छ ।

अध्यक्ष दाहालले स्थानीय तहमा जुनसुकै नम्बरमा आफ्नो पार्टी परे पनि प्रदेश र केन्द्रको चुनावमा माओवादी एक नम्बरको पार्टी हुने र बनाउनैपर्ने बताए । ‘जबसम्म माओवादी एक नम्बरको पार्टी हु्ँदैन, तबसम्म संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुँदैन’ उनले भने । उनले स्थानीय तहको चुनाव एमाले र कांग्रेसले नचाहेको बताए । उनीहरुले पुरानै संरचनामा चुनाव गराउन चाहेको बताए । तर आफूले ‘स्थानीय तहमा कुनै बेला माओवादीले, कुनै बेला एमाले र कांग्रेसले जित्ला, हार्ला तर सिस्टम बसोस्, देशले जितोस्’ भनेर चुनावको वातावरण मिलाएको दाहालको दाबी थियो ।

दोस्रो संविधानसभाको निर्वाचनपछि माओवादी तेस्रो पार्टी भयो । त्यसपछि संघीय संविधान जारी हुन नदिन ठूला पार्टीले असहयोग गरे पनि आफूले एमालेलाई प्रधानमन्त्री, कांग्रेसलाई राष्ट्रपति दिएर संघीय गणतन्त्रको संविधान जारी गराएको उनले बताए । आफ्नो कार्यकालमा दैनिक १८ घण्टासम्म काम गरेर राजनैतिक संस्कार बसालेको उनले बताए ।

नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री कुर्सी छोड्ने बेलामा अर्को प्रधानमन्त्रीको उम्मेद्वारको प्रस्ताव आफैंले गरेको पहिलो पटक भएको उनले बताए । अहिले प्राय:सबै दलले कसैले मधेसी, कसैले पहाडको मात्र मुद्दा लिएर आए पनि माओवादी मात्रै हिमालदेखि तराईसम्मको साझा मुद्दा बोकेको पार्टी रहेको बताए । चुनाव गराउनदेखि लिएर, उज्यालो नेपाल अभियान, राष्ट्रिय गौरवका आयोजनालगायत काम १० महिनामै माओवादीले गरेको बताए ।

महाकुलुङ र दूधकोसी गाउँपालिकाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टरबाट पुगेका दाहालले ४० मिनेट लामो भाषण गरेका थिए । विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने दर्जनौंलाई दाहालले अबीर र खादासहित स्वागत गरेका थिए । प्रधानमन्त्री पद छोडेपछि उनी पहिलो पटक चुनावीसभामा सम्बोधन गर्न सोलुखुम्बु आइपुगेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!