काठमाडौ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान दोहोर्‍याएका छन् ।

Advertisement

संसद्‍मा शुक्रबार बोल्दै यादवले सरकारले संविधान संशोधन, आन्दोलनका घाइतेको उपचार, मृतकका परिवारलाई राहत, क्षतिपूर्ति, सहिद घोषणालगायत माग पूरा नगरेसम्म चुनावमा सहभागी नहुने बताएका हुन् ।

उनले भने, ‘सरकारले अहिलेसम्म सहमति कार्यान्वयन गरेको छैन । हाम्रा कार्यकर्ता जेलमा छन् । उनीहरुलाई बाहिर राखेर चुनावमा जान सकिँदैन ।’

माग पूरा गरेर सरकारले वातावरण बनाएमा चुनावमा जाने उनको भनाइ छ । राजपाले भाग नलिए निर्वाचनको वैधानिकता समेत नहुने यादवले जिकिर गरे ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति कार्यान्वयनका लागि विश्वासको वातावरण बनाएको भन्दै यादवले त्यही गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले माग सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे । उनले दाहाल र देउवा सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयन हुनपर्ने बताएका हुन् ।

आफ्ना माग पूरा गर्न सत्तापक्ष नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि उत्तिकै जिम्मेवार रहेको उनको भनाइ छ । कांग्रेस, एमाले, माओवादीबीच राष्ट्रिय एकता गरेर राष्ट्रिय समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ ।

नेता सर्वेन्द्रनाथ शुक्लले तराई–मधेसमा विभिन्न प्रकारका शङ्का तथा उपशङ्का उत्पन्न भइरहेको भन्दै संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्नेमा जोड दिए ।

आफूहरु निर्वाचनमा जान चाहेको भन्दै जबरजस्ती आन्दोलनमा नधकेल्न उनले चेतावनी दिए । सरकारले वार्ता, संवाद नगरेकोमा उनले असन्तुष्टि पोखे । उनले पनि संविधान संशोधन, मृतक कार्यकर्तालाई सहिद घोषणा, घाइतेको उपचार, राहत, क्षतिपूर्ति तत्काल व्यवस्था गर्न सरकारसँग माग गरे ।

यस्तै, संघीय समाजवादी फोरमका सांसद शिवजी यादवले राष्ट्रिय समस्या समाधान गर्ने लक्ष्यसहित प्रधानमन्त्रीमा निर्वाचित शेरबहादुर देउवाले मधेस केन्द्रित दलको माग सम्बोधन गर्न अग्रसरता लेओस् भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!