सुरुङ्गा (झापा)। स्थानीय निकायको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि सम्बन्धित निर्वाचन कार्यालयबाट अनुमति नलिई सवारी साधनको प्रयोग गरिरहेका छन् ।

आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने क्रममा प्रयोग गरिएका सवारी साधनको अनुमति नलिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो ।

Advertisement

चुनाव प्रचारप्रसारका क्रममा जिल्लाका १५ वटै स्थानीय तहका उम्मेदवारले हुलकाहुल सवारी साधन बिनाअनुमति सञ्चालन गरिरहेका छन् । अनुमति नलिएका सवारी साधनमा प्रचारप्रसारका क्रममा दलको झन्डा राख्न नपाइने आचारसंहितामा उल्लेख छ । तर उम्मेदवार तथा नेता कार्यकर्ता सवारी साधनमा झन्डा राखेर प्रचारप्रसार गरिरहेका छन् ।

जुन क्षेत्रका लागि उम्मेदवार बनेको हो, उम्मेदवारले सोही क्षेत्रका निर्वाचन अधिकृतसँग चुनावअगावै प्रचारप्रसारका लागि आफूले प्रयोग गर्ने सवारी साधनको विवरणसहित अनुमति लिइसक्नुपर्ने प्रावधान छ । उम्मेदवार आचारसंहिता विपरीत चुनाव प्रसारप्रसारका सामग्रीसहित घरदैलो अभियानमा जुटेका छन् ।

चुनाव प्रचारप्रसारमा हिँंडेका दल र तिनका नेता कार्यकर्ताले आफ्नो पार्टीको चुनाव चिह्न अङ्कित टोपी, टिसर्ट बाँड्दै मतदाता फकाइरहेका छन् । उम्मेदवारको टुङ्गो लागि नसकेको अवस्थामा चुनाव प्रचारप्रसारमा हिँड्दा पार्टीले सम्बन्धित निर्वाचन अधिकृतबाट प्रयोग गरिने सवारी साधनको अनुमति लिनुपर्ने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी आचार्य बताउनुहुन्छ ।

झापामा कुनै पनि दल र तिनका कार्यकर्ताले चुनाव प्रचारप्रसारका लागि निर्वाचन अधिकृतसँग अनुमति लिएका छैनन् । सार्वजनिक स्थानमा कुनै पनि दलको चुनाव चिह्न अङ्कित पोस्टर, ब्यानर र स्टिकर टाँस्न पाइँदैन । तर अहिले यहाँका गाउँ गाउँका चोकदेखि सहरका गल्ली–गल्लीमा निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारका सामग्री राखेको पाइन्छ ।

“अहिले आचारसंहिता उल्लङ्घन भएको चुपचाप हेर्नुुपर्ने अवस्था छ” – आचार्यले भन्नुभयो – “उम्मेदवारी दर्तापछि कडाइका साथ निर्वाचन आचारसंहिता लागू गर्छौं ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!