गोरखा, १२ मङ्सिर । गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ ।

Advertisement

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो ।

आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो । “मूल मन्दिर पुरानै संरचनामा निर्माण भएपछि तिथिअनुसार आजदेखि पूजा चलाउन मिल्ने भयो”, मूल पुजारी थापाले भन्नुभयो, “सधैँ जस्तै नियमितरुपमा गरिने नित्य पूजा गरेर मन्दिर खुला ग¥यौँ ।”

बाहिरको केही काम गर्न अझै बाँकी छ । मूल मन्दिरमा पूजा गर्दा अवरोध नहुने देखिएपछि पूजा शुरु गरिएको उहाँले बताउनुभयो । “पहिलेदेखि नै साइत हेरिराखेका थियौँ, दशकर्मको पूजा गरेर मन्दिर खुला गर्दा ढिलाइ हुने भएकाले क्षमापूजा गरी शुरु गरिएको हो”, मूल पुजारी थापाले भन्नुभयो ।

मूल मन्दिरभित्र पूजा गर्न पाएपछि भक्तजन खुशी भएको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताउनुभयो । “करीब ४३ महीनादेखि अस्थायी टहरमा पूजाआजा गर्दै आएका भक्तजनले आजदेखि मूल मन्दिरमा नै पूजाआजा गर्न पाएका छन्”, संयोजक श्रेष्ठले भन्नुभयो, “मूल मन्दिरभित्र पूजा गर्न पाएपछि भक्तजनमा उत्साह थपिएको छ ।”

राष्ट्रिय पुरातत्व विभागबाट अनुमति लिएर पुरानै संरचनाअनुसार प्यागोडा शैलीमा मन्दिरको पुनःनिर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । “मन्दिर पुनःनिर्माणसँगै मन्दिरको आँगनमा ढुङ्गा छाप्ने काम पनि सकिएको छ, अब मन्दिरको पश्चिमपट्टिको भागमा टेवा पर्खाल लगाउने, मन्दिरमा आउने भक्तजनका लागि शौचालय निर्माण, परेवा बस्ने घर बनाउन भने बाँकी रहेको छ”, संयोजक श्रेष्ठ भन्नुभयो ।

करीब रु १५ करोडको लागतमा मन्दिर निर्माणको काम सम्पन्न भएको उहाँको भनाइ छ । मन्दिर निर्माणका क्रममा गजुरदेखि मन्दिरको छानासम्म १८ किलो २०० ग्राम सुनको मलम्ब लगाइएको छ भने मूलद्वारमासमेत सुनको जलप लगाएर मन्दिरलाई झकिझकाउ पारिएको छ । भूकम्प गएको करीब तीन महीना अर्थात् असार महीनादेखि मन्दिर निर्माणको काम शुरु गरिएको थियो ।

मन्दिर निर्माणका लागि नेपाल सरकारले पुरातत्व विभागमार्फत रु चार करोड बराबरको सुन तथा काठ उपलब्ध गराएको थियो भने बाँकी रकम भक्तजनबाट चन्दा सङ्कलन गरी निर्माण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!